काठमाण्डु, २९ असार– पहिरोले पुरिएर नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट शुक्रबार त्रिशूली नदीमा खसेका दुई बस र यात्रुको खोजी सुरू भएको छ ।
यसअघि हिजो दिनभर गोताखोर टोलीले खोजी गरे पनि बसको पर्दा र बच्चाको कपडाको एक टुक्रा मात्र फेला परेको थियो । नदीमा पानीको बहाब नघटेको र रात परेका कारण शुक्रबार उद्धारकार्य रोकिएको थियो ।
आज बिहानैदेखि उद्धारकार्य पुनः सुरु भएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । वर्षात रोकिएको र जलसतह घटेका कारण शुक्रबारको तुलनामा खोजीकार्य सहज हुने अपेक्षा उनले गरे । खोजीमा सशस्त्र प्रहरीका गोताखोरसहित प्रहरी र नेपाली सेना गरी ढेड सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धार टोलीले चुम्बक र रडको प्रयोग गरी हराएका बसको खोजी गरिरहेको छ ।
काठमाण्डुबाट रौतहटका गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगञ्जबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको रात्रि बस शुक्रबार बिहान तीन बजेतिर सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । दुवै बसमा गरी चालक र सहचालकबाहेक टिकट काटेका ५१ यात्रु रहेको प्रहरीेले जनाएको छ ।
टिकटबिनाका यात्रुसमेत हुन सक्ने भएकाले बेपत्ताको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । त्यस क्रममा तीन जना यात्रु भने पौडी खेलेर ज्यान जोगाउन सफल भए ।