अर्को सरकार नबन्दासम्म प्रचण्ड नै प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ असार २८ गते २१:०८ मा प्रकाशित

काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई तोकेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेसँगै प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । राष्ट्रपति कार्यालयले शुक्रबार साँझ विज्ञप्तिमार्फत अर्को सरकार नबन्दासम्म प्रचण्ड नेतृवकै मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी जिम्मेवारी तोकेको उल्लेख छ ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us