सरकारी खर्च कडाइ गर्दा अर्थतन्त्र शिथिल भयो: अर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८० चैत १३ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १३ चैत– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन । आज मंगलबार मन्त्रालयको चालु आर्थिक वर्ष (आ.व) को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तरमन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताएका छन । उनले राजस्व संकलन र पूँजीगत खर्च बढाएर अर्थतन्त्रका समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सहसचिव र विभागीय प्रमुखलाई निर्देशन दिएका छन ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो, उति नै छिटो नतिजा आउने पुनले बताएका छन । उनले विगतमा खर्च गर्न कडाइ गरिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिएका छन ।

उनले भने, ‘खर्चमा कडाइ गरिएका कारण राजस्व संकलन पनि खुम्चियो, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरूले पनि खर्च बढाउँछन् ।’ पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको पनि बताएका छन ।

राजस्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us