त्रिकोणात्मक टी–२० आई सिरिज फाइनल: नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित

काठमाण्डु टुडे २०८० फागुन ३० गते १५:२२ मा प्रकाशित

काठमाण्डु, ३० फागुन–त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले हारेको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो ।

आजको फाइनल खेलमा नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाउन सफल भएका थिए । तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कबुवा पहिलो खेलमा नेपालविरुद्ध खेलेका थिएनन् ।

गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भएका थिए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स अमिनबाट क्याच आउट भएपछि नेपाल ३७.४ को अवस्थामा पुगेको थियो ।

चाद सोपरको बलमा सन्दीप जोरा १७ रनमा बाउबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो लगातार ८ बल डटपछि दबाबमा हाबामा ब्याट उठाएका विवेक यादव १ रनमा क्याच आउट भएका थिए । पहिलो खेल नखेलेका चाद सोपर र एली नाओले पनि उत्कृष्ट बलिङ गरे ।

चाद सोपर र सेसे बाउले २–२ विकेट लिए । एली नाओले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

पपुवा न्युगिनीको जितमा ओपनर टोनी उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाउन सफल भएका थिए । तल्लोक्रममा नेली नाओले १० बलमा ३ छक्का र १ चौकासहित महत्वपूर्ण ३० रन जोडेका थिए ।

सेसे बाउ शून्य, असाद भाला र लेगा सियाका २–२ रनमा आउट भएका थिए । हिरि हिरि १५, हिला भारे १८, चाद सोपर १३, किप्लिङ डोरिगा १४ रनमा आउट भए ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । करण केसी र गुलशन झाले १–१ विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us