टी–२० आई त्रिदेशीय क्रिकेट: उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

काठमाण्डु टुडे २०८० फागुन २२ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको छ । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा पुरा गरेको हो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरेका थिए ।

लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाउन सफल भएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर उनले ४८ रन बनाएका थिए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन असफ भए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।

त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us