
काठमाण्डु, ८ फागुन– क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर वनाएर विजयी भएको हो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखला १–१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाल जिताको लागी कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।
७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाउन सफल भएका थिए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यस्तै बसिर ५२ रनमा नट आउट रहे ।
ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुकेका थिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए ।
नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाउन सफल भएका थिए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिएका थिए ।