
काठमाण्डु, २९ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझैँ पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गरेका छन ।
आज (सोमबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले पार्टी एकता बारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको बताएको बैठकमा सहभागी एक नेताले बताएका छन ।
प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी एकताका विषयमा छलफल भइरहेकै छ । बाबुरामजीले नेतृत्व गरेको नेसपासँग पटकपटक छलफल गरेर संयोजन समिति बनाएर जाने भन्ने भएको छ, गति लिएको छैन ।
संशयको स्थिति अझैँ छ । अर्को विप्लवजीको पार्टीसँग पनि संयोजन समिति बनाउने कुरा चलेको छ । तर त्यो पनि निष्कर्षमा पुगेको छैन ।’ प्रचण्डले पार्टी एकताका विषयमा धेरै चासो गर्नुभन्दा पनि यही पार्टीलाइ शक्तिशाली बनाउने तर्फ लाग्न कार्यकर्ताला उनले निर्देशन दिएका छन ।
प्रचण्डले बैठकमा भने, ‘मलाई के लाग्छ र तपाईंहरुले के बुझ्न जरुरी छ भने एकता छिटो गरेर धेरै होला भनेर अब आश गर्नु भन्दा यही पार्टीलाई शक्तिशाली बनाउन लागौँ । गर्दै जाँदा साथीहरू आउनु भयो भने स्वागत गरौँला ।’