
काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् ।
आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि शाहले अर्धशतक बनाएका छन् ।
अनिल ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले ५० रन बनाउँदै क्रिजमा रहेका छन । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो ।
यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका प्रहार गरेका थिए ।
उक्त खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचेका थिए ।
उनले आफ्नो खेलजीवनको छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन् । १५ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेट गुमाएर ८३ रन बनाउन सफल भएको छ ।