
काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकपमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाउन सफल भएको हो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट भएका थिए ।
एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।
कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । उदय खेल इनिङ सकिन भन्दा दुई बल अघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए ।
भारतले ओपनर आदर्श सिंहलाई १८ बलमा ४ चौकासहित २१ रनमा गुमाएको थियो । त्यसपछि आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए ।
नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए । त्यस्तै दीपेश कँडेलले १० ओभरमा ४६ रन खर्चेका थिए । देव खनालले २ ओभरमा १४ रन बनाउन सफल भएका थिए ।