एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट: आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

काठमाण्डु टुडे २०८० माघ १ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, १ माघ– त्रिभुवन आर्मी क्लबले कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई एक सय २६ रनको विशाल रनको अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा आर्मी क्लबले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । दोस्रो खेल खेल खेलेको मधेस प्रदेशको भने यो पहिलो हारेको हो । यसअघि आफ्नो पहिलो खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई सात विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ओभरमा सबै विकेट गुमाएर तीन सय २० रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ९४ रनमात्र बनाउन सक्यो । मधेस प्रदेशका लागि पवन सर्राफले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ६५ रन बनाएका थिए । पवनले ८३ बलको सामना गरी तीन छक्का र सात चौका पनि प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us