
काठमाण्डु, ४ पुस– आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा पनि अधि आएका छन ।
आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२ औँ र रोहितकुमार पौडेल ७९ औँ स्थानमा परेका छन । उक्त वरीयतामा भारतका शिखर धवन ८७ औँ स्थानमा रहेका छन ।
उनी अघिल्लो वरीयताको तुलनामा तीन स्थान तल झरेका छन । अर्का भारतीय ब्याट्सम्यान हार्दिक पाण्डेया भने ९१ औँ स्थानमा रहेका छन । उनी अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेका हुन् ।
उनी इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सका नयाँ कप्तान पनि हुन् । यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल नयाँ वरीयताको ९६ औँ स्थानमा रहेका छन । उक्त वरीयतामा अफगानिस्तानका नजिबुल्लाह जदरान ८०औँ, अफगानिस्तानकै मोहम्मद नाबी ८१औँ र वेस्ट इन्डिजका ब्रान्डन किङ ८२ औँ स्थानमा रहेका छन । पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् ।
उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन् ।
एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो, अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा आसिन छन् ।