
एजेन्सी– भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी रहेको छ ।
हिजो मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो । यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको थियो । त्यस्तै दक्षिण अफ्रिका पनि अंक तालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले लिग चरणका ८–८ खेल खेलिसकेका छन् । यी तीनै टिमले अब एक–एक खेल खेल्न बाँकी छ । यद्यपि यी तीनै टिमको बाँकी खेलले यिनको आफ्नै समीकरणमा भने खासै प्रभाव पार्ने छैन ।
किनकि, भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलियाको समान १२–१२ अंक रहेको छ । शीर्ष चार टोलीमध्ये पहिलो सेमिफाइनल खेल पहिलो नम्बरमा रहेको टिम र चौथो नम्बरमा रहेको टिमबिच हुनेछ ।
यस्तै, दोस्रो र तेस्रो नम्बरमा रहेका टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । त्यसैले आफ्नो बाँकी एक खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले हारे पनि वा जिते पनि यी दुई टोली नै दोस्रो र तेस्रो पोजिसनमा रहने छन् । किनकि, चौथो स्थानमा पुग्ने टोलीसँग बढीमा १० अंकमात्र हुनेछ ।