टी–२० विश्वकप पुगेका क्रिकेटरलाई जनही १३ लाख दिन राखेपको सिफारिस

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो घरेलु मैदानमा आइतबार सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया फाइनलको शीर्ष दुईमा रहँदै नपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाएको हो ।

टी–२० विश्वकप २०२४ जुनमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने भएको छ । टी–२० विश्वकपमा छनोट भएका १५ खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई समान १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार दिन सिफारिस गरिएको हो ।

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले पनि टी–२० विश्वकपमा छनोट भएको टोलीलाई नगद ५० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपालले त्यसपछिका तीन विश्वकपमा छनोट हुन असफल भएको थियो ।यस पटक आईसीसीले ग्लोबल क्वालिफायर्सको सट्टा क्षेत्रीय छनोट आयोजना गरेको थियो ।

जसमा एसिया क्षेत्रबाट फाइनल पुग्ने दुई टिम नेपाल र ओमान टी–२० विश्वकपमा छनोट भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us