नेपाली क्रिकेटका लागि २०२३ राम्रो भयो, २०२४ मा निरन्तरता दिन्छौं: प्रशिक्षक देसाई

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– आज आईतबार भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भयो। त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपालमाथि ओमानले सुपर ओभरमा जित निकालेको थियो। यसअघि ओमान र नेपाल दुवै टिम सेमिफाइनलले जितेर टी–२० विश्वकप २०२४ मा स्थान पक्का गरेका थिए।

फाइनलमा चुके पनि नेपालका लागि सन् २०२३ राम्रो वर्ष भएको प्रशिक्षक मोन्टी देसाईले जानकारी दिएका छन । देसाई गत माघमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला नेपाल आइसिसी विश्वकप लिग–२ को सात टिम मध्ये छैटौं स्थानमा छन्।

अन्तिम १२ खेल बाँकी रहदा नेपालको एकदिवसीय मान्यता समेत धरापमा परेको रहेको थियो । मोन्टी नेपाली टिमको प्रशिक्षक नियुक्त भएपछि नेपालले लिग–२ को १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन आइसिसी एकदिवसीय विश्वकप छनोटमा पनि स्थान पक्का गर्यो।

नेपालले त्यसपछि घरेलु मैदानमा एसिसी प्रिमियर कप जितेर एसिया कपका लागि स्थान पक्का गरेको थियो। युएईलाई पराजित गरेपछि नेपालले भारत र पाकिस्तानसँग एसिया कप खेल्ने मौका पाएको थियो।

विश्वकप छनोटमा जिम्बावेमा प्रतिस्पर्धा गरेको नेपालले पाकिस्तान र श्रीलंकामा भएको एसिया कपमा पनि राम्रो खेल देखायो। चीनमा भएको एसियन गेम्समा पनि नेपाली टिमले भारतविरुद्ध राम्रो ब्याटिङ गरेको थियो। आइतबार सम्पन्न टी–२० विश्वकप एसिया छनोटमार्फत नेपालले विश्वकपमा स्थान पक्का गर्यो।

छनोटको फाइनल जित्न नसके पनि नेपालका लागि २०२३ राम्रो भएको प्रशिक्षक देसाइको भनाइ छ। उनले भने, ‘हाम्रो लागि २०२३ राम्रो भयो। हामीले फरक फरक कहानी लेख्न सफल भयौं,’ प्रशिक्षक देसाइले भने, ‘अब हामी केही आराम गरेर २०२४ मा फ्रेस स्टार्ट गरेर राम्रो प्रदर्शनलाई निरन्तरता दिन चाहान्छौं।’

उनले आइतबारको फाइनल खेलको सुपर ओभरमा अभिनास बोहारालाई बलिङ गराउने निर्णय सही भएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us