यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाण्डु टुडे २०८० कार्तिक १७ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– यूएईलाई हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरे ।

टिमको जितमा कप्तान रोहित पौडेलले ३३ रनको योगदान दिए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरे ।

मोहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान एक विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us