काठमाण्डु, १८ असोज– क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक प्रहरी हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी प्रवक्ता डिआईजी कुबेरसिंह कडायतले ऐरीलाई जवानबाट सहायक हवल्दारमा बढुवा भएको जानकारी दिए ।
कडायतका अनुसार चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा रेकर्ड बनाएका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विशेष निर्णय गरी ऐरीको बढुवा गरेको कडायतले बताए ।
१० असोजमा एसियाली खेलकुदअन्तर्गत झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।
यसअघि भारतका युवराज सिंहको नाममा रहेको १२ बलको विश्व कीर्तिमान पनि ऐरीले नै भंग गरेका थिए । यस्तै ६ बलमा ६ छक्का हान्ने विश्व कीर्तिमान पनि उनैले कायम गरे ।