नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको विशाल लक्ष्य

काठमाण्डु टुडे २०८० असोज १० गते ८:५० मा प्रकाशित

काठमाण्डु, १० असोज– कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । यो टि–२० इतिहासकै उच्च योगफल हो ।

यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी समेत हो । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरे । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us