
काठमाण्डु, ५ भदौ- चार दिवशीय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ । मलेसियामा मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन् । उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन । सीता राना मगर ३ रनमा नटआउट रहिन् ।
राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रनको योगदान गरिन । अर्की ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन् । कप्तान रूबिना क्षेत्री १० रनमा आउट भइन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भयो । हङकङका लागि का यिङ चानले ३४ रन र यान चानले १६ रन जोडिन् । अरु ब्याटस्म्यानले दोहोरो अंकमा रन जोड्न पाएनन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन खर्चिइन् । इन्दू बर्माले २ विकेट हात पार्दा कविता कुँवर र पूजा महतोले १-१ विकेट लिए । नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ ।