संसद् हाईज्याक भयो: रवि लामिछाने

काठमाण्डु टुडे २०८० साउन २९ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २९ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको बताएका छन । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले यस्तो बताएका हुन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए । यसअघि पनि लामिछानेले सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

रास्वपा सांसदहरूले विरोधका रूपमा यसअघि संसद् भवनबाहिर नै संसद् बैठकको अभ्यास गरेर आफ्नो धारणा राखेका थिए । पार्टीले संसद् अवरुद्ध भएको समयको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us