एमालेको अवरोधपछि एक हप्तासम्मको लागी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाण्डु टुडे २०८० साउन २९ गते १५:५० मा प्रकाशित

काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

तर एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति जुट्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us