
काठमाण्डु, २९ साउन– धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन ।
हालसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको मेहताले जानकारी दिएका छन । उनले परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको पनि उनले बताएका छन । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका रहेका छन । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् भने बाँकी १० जना धरानका रहेका छन ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ ।
उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो । धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो ।धरानमा घर–घरमा डेंगु संक्रमित छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् ।