माधव नेपाललाई प्रश्न: सत्ता समीकरण फेरबदल हुनसक्छ ?
काठमाण्डु टुडे
२०८० साउन २९ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २९ साउन–पृर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण फेरबदलबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन ।
आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी प्रकरणको विषयलाई लिएर सत्तारुढ दल कांग्रेसकै कतिपय नेताहरूले सत्ता समीकरणमा फेरबदल हुन सक्ने दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता नेपालले यस्तो बताएका हुन ।
उनले पार्टीहरूभित्र त्यसप्रकारका कुरा उठे पनि आफूलाई त्यसबारे अहिले नै कुनै जानकारी नभएको बताएका छन । उनले भने,‘यस सम्बनधमा मलाई कुनै जानकारी छैन । पार्टीहरूभित्र कुराकानीहरू उठ्न पनि सक्छ ।
विषयवस्तुहरू अनेक ढङ्गले उठाइएको हुनसक्छ’,यसको आधिकारिक जवाफ यो विषय उठाउने पार्टीका मान्छेहरूले दिन सक्नुहुन्छ ।’ उनले आफू नेपाल आएपछि कांग्रेस लगायतका नेताहरूसँग भेटघाट गर्ने र त्यसपछिमात्र धेरै कुरा थाहा हुने जानकारी दिएका छन । उनले भने, ‘अब म यहाँ आएको छु । नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका नेताहरूसँग भेटघाट होला ।
उहाँहरूको कुरा सुनिसकेपछि मात्रै बल्ल बताउन सक्छु’ ।उनले सुन तस्करी प्रकरणमा आयोगको माग गर्दै प्रमुख प्रतिपक्ष दलले संसद् अवरोध गरिरहेको प्रसङ्गमा लामो समय संसद् अवरुद्ध गर्दा जनताका समस्यामा छलफल हुन नसक्ने भएकाले अवरोध खुलाउनु पर्ने पनि बताएका छन ।