पीएसजी एमबाप्पेलाई बेच्ने तयारीमा

काठमाण्डु टुडे २०८० जेठ ३० गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी ले स्टार फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने भएको छ ।

एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी सुरु गरेको हो । पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ ।

२४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र रहेको छ । तर एमबाप्पेले आफूले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको बीबीसीले जानकारी दिएको छ ।

एसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको मनसाय रहेको छ । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका थिए ।

गत वर्षको विश्वकपमा भने एमबाप्पेको टिम अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो । एम्बाप्पेलाई केही समययता स्पेनिस क्लब रियल मड्रिडले पछ्याइरहेको छ ।

रियलले गत वर्ष गरेको प्रस्ताव भने एम्बाप्पेले अस्वीकार गर्दै पीएसजीमै बसेका थिए । करिम बेन्जेमा साउदी क्लब अल इत्तिहादमा गएपछि रियल अहिले स्ट्राइकरको खोजीमा छ ।

रियलको नजर इंग्लिस फरवार्ड ह्यारी केनमा पनि छ । सन् २०१७ मा एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी गएका थिए र पछि पीएसजीमा स्थायी रुपमा अनुबन्ध भए ।

उनले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् । एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता छन् भने पीएसजीमा ६ सिजन बिताउँदा पाँच लिग उपाधि जितेका छन् ।

यस्तै उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरीसकेका छन । पीएसजीले एमबाप्पेसँगै नेमार र लियोनल मेसी जस्ता खेलाडी भित्र्याए पनि च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने पक्का भइसकेको छ । सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन् ।

एमबाप्पेले छाडे उनी क्लब छाड्ने मेसी पछि दोस्रो ठूलो स्टार हुनेछन् । पीएसजीको गत सिजन फ्रन्टलाइनको तीन स्टारमध्ये एक नेमार पनि साउदी अरेबिया जाने चर्चा चलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us