
काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताएका छन ।
उनले भने, ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको ‘ रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’
ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् ।उनले भने, ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाण्डु आउँदैछु भन्नुभएको थियो’ ।
यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’