सन्दीपले बनाए एकदिवसीय खेलमा सबैभन्दा चाँडो १०० विकेटको कीर्तिमान

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका छन । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्‍याएका छन ।

विश्व कीर्तिमान बनाउने क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिएका हुन । ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो ।

अफगानिस्तानका स्पिनर खानले २०१८ मा उक्त रेकर्ड बनाएका थिए। उनले ४४ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए । खानपछि अस्ट्रेलियाका मिचेल स्टार्क छन्। उनले ५२ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए।

यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा १०० विकेट पूरा गरेका छन्।

ओडीआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने लामिछाने विश्वकै दोस्रो खेलाडी हुन्। सन्दीपले २२ खेलमा ओडीआईमा ५० विकेट पूरा गरेका थिए। श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us