
काठमाण्डु ,३ वैशाख- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।उनले जनताको आश कांग्रेसप्रति नै रहेको बताए ।
कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ । कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ ।’
सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताए ।संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए ।