सरकारले महाविपत्तिको जस्तो समय सोचेर काम गर्नुपर्छ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८० वैशाख २ गते १७:११ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन । कांग्रेस मकवानपुर–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन ।

महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन । उनले भने,‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् ।

चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । उसलाई भ्याईनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ ।

अनिमात्रै परिणाम दिन सकिन्छ’, । महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताएका छन ।

उनले भने, ‘हामीले ठीक ढंगले काम गर्न सक्यौं भने अबको ३÷४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us