
काठमाण्डु,३० चैत–कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन ।
आज (बिहीवार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताएका छन ।
उनले मानिसको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताएका छन । उनले भने, ‘सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ ।
सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ ।
मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ,’ ‘अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ ।’