
काठमाण्डु,३० चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन केन्द्र सरकारलाई काठमाण्डु महानगरको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।
काठमाण्डु महानगरको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाण्डुबासी लाई आपत्ति नहुने बताएका छन ।
उनले आज बिहिबार सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाण्डुबासी लाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’
उनले काठमाण्डुवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।
तर मेयर शाहले कम्पनीका सञ्चालक मित्र घिमिरेलाई सिंहदरबारको फोहोर उठाए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै रोक्न निर्देशन दिएका छन् ।