अब माओवादीमा फर्किने कुनै सम्भावना छैन: लेखराज भट्ट

काठमाण्डु टुडे २०७९ चैत २८ गते १७:३९ मा प्रकाशित

काठमाण्डु,२८ चैत– एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आफू अब नेकपा (माओवादी केन्द्र)मा फर्किने कुनै सम्भावना नभएको बताएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित आफ्नो निजी निवासमा भेट गरेको प्रसंगमा बोल्दै उनले यस्तो बताएका हुन ।

भट्टले पुनः माओवादीमा फर्किने सम्भावना नरहेको बताएका छन । आज मंगलबार अत्तरियामा एमालेले आयोजना गरेको मिसन ग्रासरुट अभियानको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा भट्टले प्रधानमन्त्रीले घरमै आउँछु भनेपछि पारिवारिक भेटघाट भएको पनि बताएका छन ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले घरमा भेटन आउँछु भन्नुभयो मैले हुन्छ भनेँ, त्यो पारिवारिक भेटघाटमात्रै हो । हामीबीच ४० वर्षदेखिको सम्बन्ध भएकाले यो कुरालाई सामान्य रूपमा लिनुपर्दछ,’ उहाँले शान्ति प्रक्रियाका काम टुंग्याउन हाम्रो पार्टी अध्यक्षसँग कुरा गर्नुपर्‍यो भन्नुभयो तर मैले तपाईं नै अध्यक्षसँग कुरा गर्नुस् भनेको छु । बाहिर आए जस्तो फेरि म माओवादीमा फर्किने कुनै सम्भावना छैन । ’

लेखराजको निवासमा प्रचण्डले भने– यो घर मेरो पनि हो भन्ने लागेर आएँ । उनले प्रचण्डलाई वामपन्थी एकताका लागि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्न सुझाव दिएको बताएका छन ।

उनले भने, ‘ मैले उहाँ प्रचण्ड लाई बामपन्थी एकताका लागि हाम्रो पार्टीका अध्यक्ष कमरेडसँग कुरा गर्नुस् भनेको छु । विगतमा कहाँबाट कसरी सम्बन्ध बिग्रेको हो ?

त्यो बारेमा छलफल गर्न पनि आग्रह गरेको छु’ भट्टले भने ।आफू कम्युनिष्ट पार्टीबीच एकताको पक्षमा रहेको उनले बताएका छन । कम्युनिष्ट पार्टीबीच एकता नभए बामपन्थी शक्ति कमजोर हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us