
काठमाण्डु,२८ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान गर्ने बताएका छन ।
आज (मंगलबार) प्रेस सेन्टर रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताएका छन ।
उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाइ भएका कारण मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही कमी भएको साँचो हो’ ‘तर अब एक–दुई दिनमै अर्थतन्त्रका समस्याहरु समाधान दिनेगरी सरकार अघि बढेको छ ।’
उनले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा धेरै सुधारका काम भएको बताउँदै अब गृहमन्त्रालयमा आर्थिक तथा कुनै चलखेल नहुने बताएका छन ।
उनले संविधानअनुसार नागरिकताको अधिकार प्राप्त नगरेका नागरिकलाई नागरिकता प्रदान गरिने बताएका छन ।उनले भने, ‘संविधानको अधिकारभित्र रहेका नागरिकलाई नागरिकता दिन्छौं’, ‘कुनै नागरिकलाई नागरिकताविहीन बनाउन सकिन्न, तर नागरिकता विधेयकका केही विषयमा राष्ट्रिय सहमतिको प्रयास गरिन्छ ।’