शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

काठमाण्डु टुडे २०७९ चैत २७ गते १२:२२ मा प्रकाशित

 

काठमाण्डु,२७ चैत– संघीय संसद सचिवालयले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने भएको छ ।

गत ४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो ।

त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।

कांग्रेसलाई पमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । यही बेला संघीय संसद सचिवालयले सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित त्यस अनुसार पाउने सुविधा कांग्रेस सभापति देउवालाई दिने तयारी गरेको हो ।

संघीय संसद सचिवालयका अनुसार कांग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सेवा सुविधा प्राप्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us