काठमाण्डु, २ चैत– नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईबिरुद्ध एक विकेट लिँदै ९९ विकेट पुर्याएका छन ।
विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडिआई खेलमा ९९ विकेट लिएका हुन्। आगामी खेलमा एक विकेट लिएमा उनी सवैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने भएका छन । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा रहेको छ ।
अफगानिस्तानका स्पिनर खानले २०१८ मा उक्त रेकर्ड बनाएका थिए । उनले ४४ खेलमा ओडिआईमा सय विकेट बनाएका थिए । खानपछि अष्ट्रेलियाका मिचेल स्टार्क रहेका छन । उनले ५२ खेलमा ओडिआईमा एक सय विकेट पूरा गरेका थिए।
यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा एक सय विकेट पूरा गरेका छन्।
अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका छन्। लामिछानेले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।