कालोमोसो दस्ताका संयोजक थापालाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो: प्रसाईं

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १४:२६ मा प्रकाशित

काठमााण्डु,३० फागुन– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन ।

आज (मंगलबार) काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको पनि बताएका छन । यद्यपी संयोजक थापा छुटिसकेका छन् ।

उनले भने , ‘बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध जुन झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्नको लागि हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो हामीले । हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरू ठाउँमा पुगे ।

नेताहरूले पैसा कमाएर लगेर विदेशका बैंकहरुमा राखे । ५५ जना व्यापारी र १० जना नेताहरूले यो देशमा भाँडभैलो मच्चाएर आज हामी तीन करोड नेपालीहरूमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरू प्रेसर, सुगर, डिप्रेसनको सिकार भएर कति दिने बाँच्ने भनेर काल पर्खेर बसेको स्थिति । त्यो सबै कुराहरूलाई मध्यनजर गर्दै हामीले अभियान चलाएको ।

शम्भु थापाको नेतृत्वमा चितवनमा कालोमोसो दस्ता भनेर सुरु भएको थियो । तर उहाँहरूले कालोमोसो दल्नु भएको थिएन । एउटा दस्ता मात्रै बनाउनुभएको थियो ।’ उनले थपे, ‘ एमालेको युवा संघ, माओवादी केन्द्रको वाईसिएल र नेपाली काँग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो ।

त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो । कति अराजक रहेछ मुलुक । संविधान प्रदत्त अधिकारमाथि हनन गर्‍यो राज्यले । उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दा खेरी प्रचण्ड सरकारले पक्रेको छ । मलाई पनि खेदिराखेको छ ।

तर म भाग्नेवाला छैन । अब स्वतः स्फूर्त रूपमा देश, गाउँ, हरेक ठाउँबाट यी सामन्तहरूलाई ठेगान लगाउने काम गर्नुपर्छ र यी बैंक र लघुवित्तहरू यही तरिकाले छाडा छोड्यो भनेदेखि हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन् । हामी सुकुम्वासी हुँदैछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us