पीएनजी ९५ रनमा अल आउट, सन्दीपले पाँच विकेट लिए

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १२:२३ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनाएका थिए ।

त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाएका थिए भने अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।

१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चेका थिए । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिन सफल भएका थिए ।

आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा जाने लक्ष्यमा रहेको छ । नेपाल लिग २ मा ३४ खेलबाट ३६ अंक छ । यता पीएनजीको ३४ खेलबाट ११ अंक जोड्न सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us