
जनकपुरधाम, ५ साउन – राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले अघिल्लो आर्थिक वर्ष २०७०–०७१ मा पाँच करोड मूल्य बराबरको बीउ बिक्री गरेको छ ।
कार्यालयले सो आर्थिक वर्षमा धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका किसानलाई ७४.३७६ मेट्रिक टन धानको बीउ, ५३७.३१४ मेट्रिक टन गहुँको बीउ, ०.२०७ मेट्रिक टन मसुरोको बीउ, ०.५५० मेट्रिक टन ढंैचा बीउ तथा ८० केजी मुलाको बीउ बिक्री गरी पाँच करोड उठाएको छ ।
सरकारले धानमा १५ देखि ३० प्रतिशत तथा गहुँमा ३५ प्रतिशत अनुदान दिएको थियो ।
नेपाल सरकारले सोना मन्सुली धानमा प्रतिबन्ध लगाएर स्वर्णासवधान धान लागू गरे पनि किसानबीच स्वर्णासवधान लोकप्रिय हुन नसकेकोले सोना मन्सुलीको माग बढ्दै गएको किसान बताउँछन् ।
यहाँका किसानलाई सोना मन्सुली धानप्रति विश्वास भइसकेकाले स्वर्णासवधानतर्फ आकर्षित हुन नसकेका शाखा प्रमुख रामबाबु महतोले बताए ।
सिफारिस गरिएको स्वर्णासवधान प्रतिकट्ठा २२० केजी उत्पादन हुन्छ भने सोना मन्सुली प्रतिकट्ठा २०० केजीमात्र उत्पादन भए पनि किसानले मन्सुली धान नै मन पराउने गरेका छन् । रासस