नामिबियामाथि नेपालको कीर्तिमानी जित

काठमाण्डु टुडे २०७९ फागुन ६ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा जारी लिगमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखको कीर्तिमानी साझेदारी रह्यो । कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । शनिबार नेपालले लगातार तेश्रो जित हात पारेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ३९ रन जोडे । कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गरेसँगै नेपालको जित सहज भएको हो । २७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे ।

आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भए । कुशलले ४९ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६२ रन जोडे । कुशलले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाए । यसअघि शुक्रबार स्कटल्याण्डलाई पारजित गर्दा कुशलले ८१ रन बनाएका थिए । कप्तान रोहितले ४३ बल खेल्दै ५ चौकाको मद्दतमा ३९ रन बनाए । दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।

नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नानर्ड स्कोल्जले २ तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ग्रिनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।
४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us