नेपालको यु–१६ टोली कोरियालाई गोलरहित बराबरीमा रोक्न सफल

काठमाण्डु टुडे २०७१ साउन ३ गते १४:०१ मा प्रकाशित

दक्षिण कोरिया– नेपालको अन्डर–१६ टोलीले मैत्रीपूर्ण खेलमा कोरियालाई गोलरहित बराबरीमा रोकेको छ ।
दक्षिण कोरियाको फाजु एनएफसीको खेल मैदानमा शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले कोरियालाई बराबरीमा रोकेको हो ।

u-16
सेम्टेम्बरमा थाइल्यान्डमा हुने एएफसी अन्डर– १६ च्याम्पियनसिप तयारीका क्रममा अभ्यासका लागि नेपाली टोली कोरिया गएको हो ।

प्रशिक्षक बालगोपाल महर्जनले टोलीको खेलबाट आफू सन्तुष्ट रहेको बताए । प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीले चिलीमा हुने आउँदो युथ–१७ विश्वकपमा सहभागी हुन पाउनेछन् ।  यसअघि कोरियाको अन्डर–१७ टिमसँग खेलेको दुईमध्ये एक खेलमा नेपाल विजयी भएको थियो ।

अर्को खेल २–२ गोलको बराबरीमा सकिएको थियो । विमल घर्तीमगरको कप्तानीमा रहेको टोलीमा सुनील बल, अनिल राई, सन्जोग राई, विकास थापा, आकाश थापा, अमित तामाङलगायतका खेलाडी छन् ।

अन्जन विष्ट र हेमन्त थापामगर चोटका कारण खेल्न नसकेको प्रशिक्षक महर्जनले बताए । नेपाली खेलाडीको हौसला बढाउन कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, श्रम सहचारी अनिल गुरुङ, एनआरएन कोरिया अध्यक्ष विनोद कुँवरलगायत रंगशाला पुगेका थिए ।

७ जुलाइमा कोरिया पुगेको ३० सदस्यीय नेपाली टोली जुलाइ २१ कतारको दोहा जानेछ । टोलीले कतारमा एक साता र बेल्जियममा २ साता अभ्यास खेल खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us