निगमका कारण दुईपटक रोईसकेँ, तेस्रोपटक रुनु नपरोस् : सुदन किराती

काठमाण्डु टुडे २०७९ माघ ९ गते १५:४६ मा प्रकाशित

काठमाण्डु,९ माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छका छन ।

उनले कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन दिएका छन ।

उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत समेत गराएका छन । उनले भने, ‘अब हामीलाई बिजनेस प्लान चाहियो ।

प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयका चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ ।

हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन् मान्छेले ।’ मन्त्रीले थपे, ‘मन्त्रालयबाट फर्कँदाखेरि म जहाजको रिपोर्ट हेर्दै फर्कन्छु । म ढिलै फर्कन्छु कहिलेकाहीँ त ११ पनि बज्छ ।

म ८–९ बजे त मन्त्रालयमा अनिवार्य रूपमा नै हुन्छु । यसको रिपोर्ट के माध्यमले तपाईंहरुले पठाउने हो, रिपोर्ट मलाई चाहिन्छ । मन्त्रालयलाई रिपोर्ट चाहिन्छ । ’

उनले भने, गम्भीरताका साथ तपाईंहरुलाई भन्छु–जुत्ता फटाउने कोसिस कसैले पनि नगर्नु होला है । यो त पाँच सय जनाले चलाएको देश हो के । सबै एक घण्टामा थाहा पाइन्छ ।

१५ वर्ष भयो नि हो सिंहदरबार बसेको । पाँच सय जनाको परिधिभित्र यो देश चल्छ,’ उनले भने, ‘जे–जे भयो भइसक्यो अब त्यो, आइन्दा यस्तो नहोस् । ’ उनले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन ।

उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरूले तत्काल गरिदिने पनि बताए । मन्त्री किरातीले निगमलाई मान्छेहरूले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहोर्याए ।

निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनले बताएका छन । उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए ।

उनले भने, ‘भोजपुरको मेरो गाउँमा जहाज आउँदा म खुसी हुन्थे । र, छोडेर जाँदा म रुन्थे । यही जहाज हो । मेरो आमालाई पनि म रुवाउँथे । हप्ता दिनमा एक दिन आउँथ्यो होला त्यता जहाज ।

म त जहाज र गाडी भएको ठाउँमा हुर्किएको मान्छे । यो जहाजले कुनै बेला मलाई रुवाउँथ्यो । र, मैले भन्थे– जाऊँ हाम्रो हङकङ, जाऊँ हाम्रो ब्रुनाई । त्यतै जन्मेको, त्यही हुर्केको हुनाले ।

त्यसपछि म सांसद भएर आए । दोस्रो पटक आउँदा चाहिँ म यही मन्त्रालयसँग सम्बन्धित परराष्ट्र र यो नागरिक उड्डयनसँग सम्बन्धित समितिमा काम गर्ने मौका पाएँ ।

यो निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ । म यो जहाजको कारण २ पटक रोइसकेको छु । संयोग पनि कस्तो यही जहाजको मन्त्री हुन आइपुगिएछ ।

अब, तेस्रो चोटि चाहिँ रुन नपरोस् । म त यो जहाजको कारणले रोए–रोए । अब यही जहाजको कारणले म हाँस्नुपर्‍यो । हाँस्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us