
काठमाण्डु,२८ पुस– चितवन राष्ट्रिय निकुञ्जमा एकसिगें गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ ।
बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको छ । बाघको आक्रमणबाट गैंडा मूत्यु भएको हुन सक्ने निकुञ्जले जानकारी दिएको छ ।
यसअघि, २४ पुसमा कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।