
काठमाण्डु, १ साउन – हालै सम्पन्न विश्वकप फुटबल विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
फिफाले बुधबार गरेको नयाँ वरियता अनुसार जर्मनी पहिलो स्थानमा उक्लिएको हो भने यसअघि शीर्ष स्थानमा रहेको स्पेन सात स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको स्पेन यसअघिको च्याम्पियन थियो।
नयाँ बरियतामा अर्जेन्टिना दोस्रो, नेदरल्याण्ड्स तेस्रो, कोलम्बिया चौथो, बेल्जियम पाँचौ र उरुग्वे छैठौं स्थानमा छन्। विश्वकप आयोजक राष्ट्र ब्राजिल ४ स्थान तल झर्दै सातौं स्थानमा पुगेको छ।
अघिल्लो महिना जस्तै नेपाल विश्व बरियताको १ सय ६४ औं स्थानमा यथावत छ। दक्षिण एसियाली मुलुकमा अफगानिस्तान सबैभन्दा अगाडि १२९औ स्थानमा छ भने माल्दिभ्स २ स्थान माथि चढ्दै १४५औ स्थानमा पुगेको छ।
यस्तै छिमेकी मुलुक भारत ३ स्थान माथि उक्लदै १५१औ स्थानमा पुगेको छ। यस्तै बंगलादेश १६३औ स्थानमा छ। नेपालभन्दा पछि पाकिस्तान, श्रीलंका र भुटान छन्।
यसअघि १० औं स्थानमा रहेको इंग्ल्याण्ड २० औं स्थानमा पुगेको छ। यस्तै पोर्चुगल ७ स्थान तल झर्दै ११औ स्थानमा पुगेको छ।