
काठमाण्डु, १६ पुस– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात प्रयास नगरेको प्रष्टीकरण दिएका छन् ।
शनिबार ट्वीट गर्दै खड्काले हातपात प्रयासबारे आएका समाचारमा सत्यता नभएको बताए । यद्यपि आफूहरुबीच मुद्दामा फरक तरिकाको बहस भने भएको उल्लेख गरे ।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिने कि नहिने भन्ने विवादमा खड्कामाथि महतले हात उठाउने प्रयास गरेको बाहिर आएको थियो । खड्का प्रचण्डलाई प्रधानमन्त्री बनाएरै भए पनि गठबन्धन टिकाउनुपर्ने पक्षमा थिए ।
महत भने प्रतिनिधिसभाको पहिलो दलका हैसियतमा काँग्रेसले प्रधानमन्त्री छाड्न नहुने अडानमा थिए ।
‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ‘यो कुरा सत्य होइन । केही मुद्धामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’