काठमाण्डु,१५ पुस– नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित निकालेको छ । यो प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित निकालन सफल भएको हो ।
लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो ।
ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए । सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाएका थिए ।
तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेलेका थिए । कुशलले २२ बलमा ५ छक्कासहित ४० रनको योगदान गरे ।
सिद्धान्तले १० बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए । अमिर हम्जाले १२ रन जोडे । बलिङमा फारवेष्टका करण केसी, प्रकाश जैशी र उमाइर अलीले २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको फारवेष्टले नवौं नम्बरमा ब्याटिङ गरेका राशिद खानको विष्फोटक ३२ रन सहयोगमा ९ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो । राशिदले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
मध्यक्रममा उमाइर अलीको २६ बलमा ४२ रन र ओपनर देव खनालको ३३ रनले फारवेष्ट बलियो योगफलमा पुगेको थियो ।
बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिएका थिए । अमिर हम्जा र तुल थापाले २–२ विकेट गरेका लिए । यो जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।