
काठमाण्डु,२५ मंसिर– कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सको यो सातौ विश्वकपमा सेमिफाइनल प्रवेश हो ।
२०१८ को विश्वकपको च्याम्पियन पनि रहेको फ्रान्सले अब फाइनल प्रवेशका लागि मोरक्कोसँग सामना गर्नु पर्नेछ। मोरक्को पहिलो अफ्रिकी राष्ट्रको रुपमा शनिबार राती भएको अर्को खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
यसपालिको विश्वकपअन्तर्गत शुक्रबार राती भएको दुई वटा खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्किएको थियो। शनिबार भएको दुई क्वाटर फाइनलको खेल भने निर्धारित समयमै सम्पन्न भयो।
यसपालिको विश्वकपको सेमिफाइनलमा गत विश्वकपको दुवै फाइनलिस्ट प्रवेश गरेका छन्। गत विश्वकपको फाइनल पुगेको क्रोएसियाले ब्राजिललाई स्तब्ध पारेको थियो।
यस पटक युरोपबाट फ्रान्स र क्रोएसिया, दक्षिण अमेरिकी राष्ट्रबाट अर्जेन्टिना र अफ्रिकी राष्ट्रबाट मोरक्को अन्तिम ४ मा समावेश भएको छ।