काठमाण्डु,२ मंसिर– नेपालले यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आज शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए । यूएईका लागि आयान खान र विलालले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए ।
यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।