विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

काठमाण्डु टुडे २०७९ कार्तिक २४ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २४ कातिक- कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।

सर्वोच्च अदालतले फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको थियो।

मिडिया हबले विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला आएको यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको बतायको छ । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलायको छ।

मिडिया हबले ‘पे पर भ्यू’ मोडलमा हरेक दर्शकले ५ सय रुपैयाँ तिर्नुपर्ने गरी नयाँ च्यानलमार्फत् विश्वकप देखाउने तयारी गरिरहेको थियो । दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने दाबी गर्दै अदालतमा मुद्दा परे पनि वास्तविकता त्यस्तो नभएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बतायका छन।

‘हामीलाई अदालतमाथि पूरा विश्वास छ तर ३० गते नै सुनुवाइ हुँदा पनि प्रसारणका लागि तयारी पुग्दैन, , ‘नेपाली दर्शकले विश्वकप नै हेर्न नपाउने हुन् कि भन्ने जोखिम बढ्यो धिताल बताउँछन् ।

यसपटक नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ ।जस्का कारण मिडिया हबले विश्वकप देखाउन नसक्दा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था रहँदैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us