काठमाण्डु, २३ भदौ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार आरोपमा मुछिएकोबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले चासो देखाएको छ ।
क्यान सचिव प्रशान्तविक्रम मल्लले आइसिसी उच्च अधिकारीले घटनाबारे चासो देखाएको बताए । आइसीसी अधिकारीहरु लामिछानेमाथि लागेको अभियोगबारे गम्भीर भएको मल्लले जनाए ।
आइसीसी अधिकारीले आफूलाई घटनाबारे पटकपटक सोधेको भन्दै उनले आफूले ब्रिफिङ गरेको बताए । ‘आइसिसीले यस्तोमा के हुन सक्छ भनेर चासो राखेको छ’, मल्लले भने, ‘मैले नाबालिगको केसमा नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू सिरियस भएका छन् ।’
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमको जमैकामा छन् । केन्याविरुद्धको टी–२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए । सन्दीपले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेका छन् ।
१७ वर्षीया किशोरीले केन्या उड्नुभन्दा अघिल्लो दिन ५ भदौमा आफूलाई सन्दीपले एयरपोर्टको एक होटलमा जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरीमा मंगलबार उजुरी दिएकी थिइन् । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउनुका साथै घटनासँग सम्बन्धित सिसीटिभी दृष्यसहितका प्रमाण जुटाइसकेको छ ।
प्रहरीले संकलन गरेको होटलको सिसिटिभी दृष्यमा ५ भदौको राति ११ः५५ मा सन्दीप किशोरीसहित होटल प्रवेश गरेको र ६ भदौको बिहान ६ः३० मा किशोरीसहित बाहिरिएको देखिएको छ । यसैबीच काठमाण्डु जिल्ला अदालतले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन बिहीबार प्रहरीलाई अनुमति दिएको छ ।