काठमाण्डु, २३ भदौ– क्रिकेट खेल्ने सिलसिलामा मुलुकबाहिर रहेका बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल नेपाल फर्कन दिएको निर्देशन अस्वीकार गरेका छन् ।
क्यान सचिव प्रशान्तविक्रम मल्लले लामिछानेलाई आरोप लागेपछि नेपाल आउन भनेकामा उनले खेल सकाएर मात्र फर्कने जवाफ दिएको बताए । क्यानले आरोप लागेकाले बीचैमा आउन भनेको थियो’, मल्लले भने, उहाँले म्याच सकेर मात्र फर्कन्छु भन्नुभएको छ ।’ ६ भदौमा नेपाली टिमको नेतृत्व गर्दै तीन र पाँच टि–२० खेल्न केन्या गएका लामिछाने उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने सिलसिलामा वेष्ट इन्डिजको जमैकामा छन् ।
आफूलाई केन्या जानु अघिल्लो दिन एयरपोर्टको एक होटलमा लगेर लामिछानेले रातभर जबर्जस्ती करणी गरेको भन्दै १७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले लामिछानेलाई पक्राउ अनुमति मागेकामा काठमाण्डु अदातले बिहीबार पक्राउ पुर्जी जारी गरेको छ ।
लामिछानेले क्यान पदाधिकारीसँग जमैकाबाटै टेलिफोनमा कुरा गर्दै बलात्कारको आरोप अस्वीकार गरेका छन् । आफू कानूनी उपचारमा जाने भन्दै लामिछानेले त्यसका लागि क्यानको सहयोग मागेका छन् । लामिछानेलाई निलम्बनको तयारी गरेको क्यान अन्तिम समयमा आएर पछि हटेको छ । सचिव मल्लले कानूनी रुपमा अभियोग प्रमाणित नभएसम्म लामिछानेमाथि निलम्बनलगायत कुनै पनि कारबाही नगरिने स्पष्ट गरे ।