केपी ओलीसँग चुनाव लड्ने रञ्जित तामाङको घोषणा

काठमाण्डु टुडे २०७९ साउन २० गते ७:५९ मा प्रकाशित

काठमाण्डु, २० साउन– नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले ४ मंसिरमा घोषित प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिने भएका छन् ।
माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ माओवादी पार्टी केन्द्रीय सदस्यसमेत हुन् । ओली २०७४ को निर्वाचनमा वाम गठबन्धन र राप्रपाको समर्थनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट निर्वाचित भएका थिए ।                                                                       ओली दमक नगरपालिका– र तामाङ सोही क्षेत्र अन्तर्गतको कमल गाउँपालिका–१ का स्थायी बासिँन्दा हुन् । तामाङले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावको तयारी गर्न भनिसकेको बताए ।                                      ‘मैले अध्यक्षलाई भेटेर केपी ओलीविरुद्ध उठाउनुस्, हराएर देखाउँछु भनेको थिएँ’, तामाङले भने, ‘अध्यक्षले टिकट पक्का भयो, चुनावको तयारी थाल्नुस् भन्नुभएको छु ।’
उनले ओली प्रतिगमनका नाइके र आफू प्रतिगमनविरोधी योद्धा भएकाले झापा–५ का मतदाताको रोजाइमा पर्ने दाबी गरे । जनताले पटकपटक चुनाव जिताएर पठाए पनि असफल साबित भएका ओलीको विकल्पमा अग्रगमनको नेतृत्व गर्ने युवा खोजेको तर्क तामाङको थियो । ‘यो चुनावमा पटकपटक परीक्षण भएका, देशले चिनेका र पटकपटक जनताको आशा, भरोसामा पानी खन्याउँदै आएकाहरुको हिसाब गर्नेवाला छन्’, उनले भने ‘म नन टेस्टेट युवा हुँ, ओलीलाई सजिलै हराउन सक्छु ।’                               उनले ओली ०६४ को निर्वाचनमा सामान्य माओवादी कार्यकर्ता विश्वदीप लिङदेनसँग पराजित भएको दृष्टान्त प्रस्तुत गर्दै तामाङले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा आफूले सजिलै चुानाव जित्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us