काठमाण्डु, १६ साउन– यू–२० पुरुष साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको बनेको छ ।
नेपाल आइतबार राति भएको खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई तथा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एकएक गोल गरे ।
खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । नेपाली गोलकिपर इश्वर गुरुङले बल समात्न नसकेपछि टाइसनले हेडर गोल गरेका थिए ।
पहिलो हाफमा नेपाली टोलीले भारतलाई १–० ले रोक्न सफल भए पनि दोश्रो हाफमा भारतले ७ गोल ग-यो । खेलको ५०औं मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि नै उनले अर्को गोल थपे ।
६४औं मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्याए । ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौं गोल गरे ।
नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलबाट ६ अंक जोड्दै भारत शीर्ष स्थानको खोजीमा छ ।
समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब, अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ ।